सिमभञ्ज्याङमा बाक्लो सितलहरका कारण यातायात अवरुद्ध

तु खबर संवाददाता
२०७८ पुष १६,शुक्रबार ०८:५९

मकवानपुर । मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य उत्तरी क्षेत्रस्थित सिमभञ्ज्याङमा बाक्लो सितलहर परेको कारण यातायात अवरुद्ध भएको छ । हिजो (बिहिबार) साँझ हिउँ पन्छाएर यातायात संचालनमा ल्याएको भएपनि साढे २ घण्टापछि बालो सितलहर परेको कारण पुनः यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यलय पालुङले जनाएको छ ।

दामनदेखि सिमभञ्ज्याङको करिब ३ किलोमिटर बाक्लो सितलहर पर्नाले काठमाडौंबाट हेटौंडातर्फ आउँने र हेटौंडाबाट जाने दुबै तर्फको यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।

आजै अपराह्नसम्म सितलहर पन्छाई यातायात संचालनमा ल्याइने तयारी भइरहेको प्रहरी निरीक्षक तिमल्सिनाले जनाएको छ । उनका अनुसार, हाल काठमाडौंबाट आएको विभिन्न सवारीसाधन दामनमा र हेटौंडाबाट गएको सवारीसाधन अघोरमा लाइबद्ध भई आ–आफ्नो गनतव्यतिर जान पर्खिरहेको छ ।

यसअघि सिमभञ्ज्याङ, दामन र उघोरमा मंगलबार राति हल्का वर्षासँगै परेको बाक्लो हिमपातका कारण यातायात अवरुद्ध भएको थियो । सो स्थानहरुको हिउँ बिहिबार साँझ मात्रै पन्छाई यातायात संचालन ल्याएको भएपनि सितलहरका कारण पुनः यातायात अवरुद्ध भएको हो ।