माओवादी महाधिवेशनः मस्यौदा प्रतिवेदमाथि बाँकी समूहको छलफल आज

तु खबर संवाददाता
२०७८ पुष १५, बिहीबार ०९:४६
file-photo

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज पनि प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने भएका छन् । छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले आफूहरु निर्वाचनको तयारीमा रहेको बताए । अध्यक्ष प्रचण्डले गत सोमबार पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान मस्यौदामाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । तीमध्ये ११ वटा समूहका टोली नेताले बुधबार आफ्ना धारणा राखिसकेका छन् । बाँकी टोलीले आज आफ्ना धारणा प्रस्तुत गर्नेछन् ।

समूहगत छलफलको निष्कर्ष सुनाउन प्रत्येक टोली नेतालाई १५ मिनेटको समय दिइएको छ । प्रस्तुतिको अभिलेखीकरण गर्न तीन सदस्यीय टोली बनाइएको छ । समूहगत छलफलको निष्कर्ष लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ ।