दुर्घटनामा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष १५, बिहीबार ०९:४०
सांकेतिक तस्वीर

काठमाडौं । भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मध्यपुरथिमी नगरपालिका(४ चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा कारमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–१५ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साह रहेका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका साहको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । उनका अनुसार, सो दुर्घटनामा परेर कार चालक सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय सबिन घिसिङ घाइते छन् । उनको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ ।

नयाँथिमीबाट गठ्ठाघरतर्फ जाँदै गरेको उक्त कार गएराति करिब पौने ९ बजे सडकको बिच भागमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । कार अनियन्त्रत भइ ट्याक्सी र बसलाई समेत ठक्कर दिएको थियो । ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका वडा नं. १२ घर भई हाल ललितपुरको टिकाथली बस्ने ३२ वर्षीय भिमसेन खत्री सामान्य घाइते भएका छन् । उनी उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।