सुन खानीमा पुरिएर कम्तिमा ३८ जनाको मृत्यु
काठमाडौं । सुडानमा एउटा सुन खानी भत्किँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति बेपत्ता भएका छन् । सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले खानीमा केही मानिस पुरिएको हुन सक्ने आशंका गरेका छन् ।
सुडानको राजधानी खार्तुमबाट ७०० किलोमिटर दक्षिणको फुजा गाउँमा रहको सो सुन खानीमा पुरिएर ८ जना घाइते भएका छन् । पुरिएका व्यक्तिको खोजी र उद्दारमा प्रहरीसँगै स्थानीय पनि खटिएका छन् । कम्पनीले सार्वजनिक गरेको एउटा तस्बीरमा खानीमा पुरिएका व्यक्तिको अन्त्यष्टिको लागि स्थानीयले चिहान खडा गरेका छन् । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
