मकवानपुरमा १७ जनाको कोरोना परीक्षण गर्दा संक्रमित शून्य
मकवानपुर । मकवानपुरमा बुधबार कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेको संख्या सुन्य रहेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा संक्रमितको संख्या शून्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १४ जनाको पीसीआर र ३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ५ सय ६७ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना संक्रमणमुक्त भएका छन् छन् । संक्रमणमुक्त हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका ४ जना र मनहरी गाउँपालिकाका एक जना रहेका छन् । जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार २ सय ९७ जना पुगेका छन् ।
यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १६७ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय १९ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
