आज नेप्से ६९ अंकले घट्यो, साढे ५ अर्बको कारोबार

तु खबर संवाददाता
२०७८ पुष १२, सोमबार १६:२९

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक पुनः ओरालो लागेको छ । गत आइतबार ७१ अंकमाथिले बढेको नेप्से परिसूचक सोमबार एकैदिन ७० अंकले घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ६९.७७ अंकले घटेर २ हजार ५२१ दशमलव ६५ विन्दुमा ओर्लिएको छ ।

साथै नेप्सेमा सूचीकृत २३८ कम्पनीको १ करोड भन्दा बढी शेयर किनबेच हुँदा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । आइतबार हरियाली छाएको सबै समूह आज राताम्य भएका हुन् । अघिल्लो दिन बीमा कम्पनीको सर्वाधिक अंकले बृद्धि हुँदा आज सर्वाधिक अंकले घट्न पुगेको छ ।

त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको ३० करोडमाथिको कारोबार भएको छ भने अघिल्लो दिन दुई दर्जन भन्दा बढी कम्पनीको शेयरमा सर्किट लागेकोमा आज गोर्खाज फाइनान्स र मध्यभोटेकोशीको शेयरमा मात्र सर्किट लागेको छ ।