माओवादीको आठौं राष्ट्रिय महाधिवेशन सुरु

तु खबर संवाददाता
२०७८ पुष ११, आईतवार १५:५३
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्र सुरु भएको छ । राजधानीको कमलादीमा सो पार्टीको महाधिवेशन उद्घाटन समारोह सुरु भएको हो । माओवादीले यसअघि राष्ट्रिय सम्मेलन भने पनि अन्तिम समयमा आएर सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको हो ।

महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्नेछ । माओवादीको पदाधिकारी १५ सदस्य रहने प्रस्ताव गरिएको छ । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेछन् । यस्तै केन्द्रीय सदस्य २९९ सदस्यीय रहने भनिए पनि केही सङ्ख्या बढाउन आइतबार बसेको केन्द्रीय कमिटी कमिटी बैठकले प्रस्ताव गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

५ दिनसम्म चल्ने महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका लिखित दस्ताबेज पेस हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ । माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ ।

उद्घाटनसत्र सकिए लगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुनेछ । त्यस्तै नेतृत्व चयनको कार्यक्रमसमेत रहेको छ । आठौँ महाधिवेशन हलमा आयोजकले नयाँ नेतृत्वका लागि केन्द्रीय समिति को प्यानल पेस गर्नेछ । सोही प्यानलमध्येबाट केन्द्रीय पदाधिकारी छनोट गरिनेछ । यदि सर्वसम्मत हुन नसकेको खण्डमा भने निर्वाचन प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।