भारतका बालबालिकालाई ३ जनवरीदेखि कोरोना खोप

तु खबर संवाददाता
२०७८ पुष ११, आईतवार ०८:३१
file-photo

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेका छन् । यो समूहलाई नयाँ वर्ष २०२२ को जनवरी ३ तारिखदेखि खोप दिइने भारतीय प्रधानमन्त्री मोदीले जानकारी दिए । साथै उनले स्वास्थ्यकर्मी र ६० वर्ष माथिको समूहलाई पनि बुस्टर डोज दिने घोषणासमेत गरेका छन् ।

शनिबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले सो घोषणा गरेका हुन् । मोदीले भनेका छन्, ‘१५ देखि १८ वर्ष उमेरका जो बालबालिकाहरु छन्, अब उनीहरुका लागि भारतमा खोप अभियान सुरु हुने छ । सन् २०२२ को जनवरी ३, सोमबारदेखि यसको सुरुवात हुने छ ।’ उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आतंकित नहुन आग्रह गर्दै सावधान र सतर्क रहन आह्वान गरे ।

भारतले यसै वर्षको १६ जनवरीदेखि आफ्ना नागरिकहरुलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरेको थियो । मोदीले भारतीय नागरिकहरुलाई १४१ डोज खोप दिएर कठिन लक्ष्य पार गरेको पनि बताए । उनका अनुसार भारतको वयस्क जनसंख्यामध्ये ६१ प्रतिशतभन्दा धेरैले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् ।