बागमती प्रदेशः नवनियुक्त ३ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ३ मन्त्री र ३ राज्यमन्त्रीले पद र गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सपथ गराएका हुन् । पाण्डेले शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम शुक्रबार ३ जना मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।
क्रमश नवनियुक्त भूमि व्यवस्था सहकारीमन्त्री बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले सपथ लिएका छन् । त्यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि सपथ लिएका हुन् । यससँगै बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ जना फुल मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त भएका छन् । कूल संख्या १८ पुगेको छ ।
यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री भएका थिए । यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।
त्यसैगरी तेस्रो पटक भएको सरकार विस्तारमा क्रमश श्रम रोजगार तथा यातायातमन्त्रीमा घनश्याम दाहाल, खानेपानी उर्जा तथा सिंचाईमन्त्रीमा बसन्तकुमार मानन्धर, कृषि तथा पशुपन्छीमन्त्री बसुन्धरा हुँमागाई, वन तथा वातावरणमन्त्री विशाल खड्का, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल र कृषि तथा पशुन्छी राज्यमन्त्री इन्द्रमाया गुरुङ नियुक्त भएका थिए । निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप्दै मन्त्रालय संख्या ८ पुर्याएकी थिइन् । अहिले मुख्यमन्त्री पाण्डेले ८ वटा मन्त्रालय टुक्र्याएर १४ पुर्याएका हुन् ।
