डोरमणि पौडेलको आरोपः प्रदेश सरकारको छवि भ्रष्ट भइसकेको छ

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको छवि भ्रष्ट भइसकेको आरोप लगाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा पार्टीको तर्फबाट धारण व्यक्त गर्दै उनले वर्तमान मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेका कारण बागमती प्रदेश सरकारको बदनाम भएको आरोप लगाएका हुन् ।
प्रदेश सरकारले दलिय भागबण्डा मिलाउनका लागि प्रदेशको ८ वटा मन्त्रालयलाई टुक्राएर १४ वटा पुर्याएको कारण प्रदेशकै बदनाम भएको उनको भनाई छ । उनले भने, ‘यतिबेला एउटा घरको बार्दलीभरी बोर्ड झुण्ड्याइएको छ । त्यो सहकारीको बोर्ड हो कि मन्त्रालयको हो थाहा छैन । यसले प्रदेशकै बदनामी भएको छ । हामीले ४२ महिनामा गर्न नसकेको काम यो सरकारले ५५ दिनमा नै गर्न सफल भएको छ । यो नै अग्रगामी छलाङ होला,’
उनले यसअघि २४ महिनासम्म सरकार संचालन गरेका पौडेलले आफ्नो कार्यकालमा कसैले पनि सरकारमाथि औँला उठाउन नसकेको धारणा व्यक्त गरे । बागमती प्रदेशमा कोरोना नियन्त्रणलाई प्राथमिकतामा राख्दा स्थापनाकालमा निर्माण गरिएको ७ वटा मन्त्रालयमा एक स्वास्थ्य मन्त्रालय थप गरेर ८ वटा पुर्याउन् एमालेको बाध्यता र जनताको माग भएको उनले बताए ।
उनले आफ्नो नेतृत्वको सरकारले प्रस्तुत गरेको भीमफेदी–कु्लेखानी सुरुङ मार्ग र विद्युतीय बस खरिद योजना यथावत रुपमा कार्यान्वयन गर्न र मन्त्रालय विभाजनको निर्णय फिर्ता नभएसम्म संसद चल्न नदिने चेतावनी समेत दिए । उनले विगतमा आफूले जनताको काम गर्नका लागि मदन भण्डारी फाउण्डेशनलाई आर्थिक सहायताको निर्णय फिर्ता लिन विपक्षी दलहरुले बाध्य पारेको भन्दै जनताको हित विपरितको ति सबै कार्यहरु फिता हुनुपर्ने माग गरे ।