फेरी सर्यो जिल्ला लिग फुटबल
मकवानपुर । मकवानपुरमा जिल्ला लिग फुटबल प्रतियोगिताको मिति सरेको छ । मकवानपुर जिल्ला फुटबल संघका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले जिल्ला लिग फटबल प्रतियोगिता १० दिन पछि आयोजना गर्ने निर्णय गरेको हो । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको अनुसार लिगलाई ५ दिन पछाडी सार्ने प्रस्ताव बैठकमा पेश भएपनि पदाधिकारीहरुको छलफलपछि जिल्ला लिग पुष २० गते आयोजना गर्ने निर्णय भएको छ ।
गत सिजन खेलेका ३३ टिमको मात्र सहभागितामा हुने प्रतियोगिताको लागि केही क्लबहरुको आवश्यक तयारी बाँकी रहेकाले साथै प्रतियोगिताको आवश्यक तयारी पुरा गर्नका लागि लिग सार्ने निर्णय भएको उनले बताए । यसअघि पनि पुष ५ बाट १० गतेका लागि सरेको थियो । लिगमा सहभागि हुने टिमहरुले आवश्यक कागजपत्रसहित पुष १७ गतेसम्ममा टिम दर्ता गरिसक्नुपर्ने उनले बताए ।
यस्तै, संघको बैठकले पुष १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ । पुष १५ गते जिल्ला लिग खेल्ने ३३ वटै क्लबका पदाधिकारीहरुको उपस्थितिमा साधारण सभा हुने अध्यक्ष लामाले बताए । यसका लागि सबै क्लबहरुलाई बुधबार देखि नै पत्राचार गरिने उनले बताए ।
