विद्यालय परिसरमै विद्यार्थीको कपाल काट्ने अभियान संचालन

तु खबर संवाददाता
२०७८ पुष ५, सोमबार १७:३१

मकवानपुर । मकवानपुरगढी गाउँपालिकास्थित एक विद्यालय परिसरमै विद्यार्थीको कपाल काट्ने अभियान संचालन भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको चण्डिका माध्यामिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीको कपाल काट्ने अभियान संचालन गरेको हो ।

बालबालिकामा अनुशासन कपाल कटाई अभियान भन्ने मुल नाराका साथ सोमबारबाट कपाल काट्ने अभियान सुरु गरिएको विद्यालयका सहायक प्रधानाध्यापक वीरबहादुर गोलेले जानकारी दिए । उनका अनुसार, विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी राजकुमार गोलेको व्यक्तिगत खर्चमा कक्षा १ देखि १२ सम्म अध्ययनरत छात्रहरुको कपाल काटिएको हो ।

विद्यार्थीलाई अनुशासनको दायरामा ल्याउन र  कपाल काट्न हेटौंडा नै धाउनुपर्ने बाध्यतालाई हटाउन विद्यालयमा नै कपाल काट्ने अभियान सुरु गरिएको सहायक प्रअ गोलेले बताए । हेटौंडाबाट तीन जना कपाल काट्ने मानिसलाई विद्यालयमा नै उपस्थित गराई आफ्नै खर्चमा विद्यार्थीहरुको कपाल काट्ने कामको सुरुवात गरेको विद्यालयका अध्यक्ष गोलेले बताए । पहिलो चरणमा सोमबार ७५ जनाको कपाल काटेको उनले बताए । आफु विद्यालयको अध्यक्ष रहुन्जेल यस अभियानलाई निन्तरता दिइने समेत उनले बताए ।