ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु
जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार, ट्रकको ठक्करबाट सर्लाहीकै चन्द्रनगर गाउँपालिका–१ रतनपुरका १७ वर्षीय दीपेन्द्र कुमार यादवको मृत्यु भएको हो । दव लालबन्दीमा कोठा भाडामा लिइ स्थानीय जनज्योती माविको कक्षा ९ मा अध्ययन गरिरहेका थिए ।
सो ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि तत्काले नमूना अस्पताल हरिवन पुयाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलवा पठाइएको प्रहरीको भनाइ छ । विद्यार्थीको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि जनज्योति माध्यमिक विद्यालयले सोमबार एक दिनका लागि शोक विदा दिएको छ ।
