चर्कियो काभ्रे र सिन्धुपाल्चोकको सीमा विवाद
काठमाडौँ । सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवाद थप चर्किएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्वर ११ डुम्रे र माझीटार बन्देउटारको करिब १ सय घरधुरीले आफुले भोगचलन गरेको जग्गाको लालपूर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधाबाट बञ्चित हुनुपरेको दुखेसो गरेका छन् ।
जनकराज गिरी प्रधानपञ्च हुँदा २८ माघ २०३३ मा राजपत्रमा र २०३८ सालमा सिन्धुकै भूमि भनि नापी भएकोमा काभ्रेमा गोविन्द उप्रेती सांसद भएपछि आफूअनुकूल निर्णय गरी राज्यको कर्मचारीलाई नै दवाब पारेर मालपोत, श्रेस्ता र नापीको लगतसमेत कब्जामा लिई काभ्रेमा पारेर गैरकानुनी कार्य गरेको भन्दै अधिवक्ता रोजनराज गिरीले आक्रोश पोखे ।
काभ्रेको भुम्लो गाउँपालिकाले जबरजस्ती नदी किनारामा डोजर प्रयोग गरी अरनिको राजमार्ग नै धरापमा पर्ने गरि सिन्धुको भूमिमा डोजर चलाएको प्रति बन्देउटार र डुम्रेमाझी गाउँको बासिन्दाले विरोध गरेका हुन् । बिहीबार अधिवक्ता रोशनराज गिरीको अगुवाइमा एक घन्टे चक्काजाम गरिएको थियो । उनीहरूले चक्का जामपछि गरिएको पत्रकार सम्मेलनमा सिन्धुको भूमि काभ्रेले जबरजस्ती हडपेको भन्दै थप आन्दोलनलाई सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।
