दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु, गाउँ नै शोकमा
सप्तरी । सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएपछि सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका बासिन्दा शोकमा डुबेका छन्। बिहीबार दिउँसो मोटरसाइकलमा सवार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेका छन् । यी तीनसहित चार जना प्रदेश २–०१–००२प २६८२ नम्बरको मोटरसाइकलमा सवार भएर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ क २६२ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, तीन जनाको मृत्यु भएको र १ जना बच्चा घाइते भएका छन् । एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको वडा अध्यक्ष बिरेन्द्र गोइतले बताए । ‘अहिले उनको परिवारमा रुवाबासी चलेको छ । गाउँ शोकमा डुबेका छन्’ उनले भने। मृतकको तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको र एकै पटक तीन जनाको संस्कार गरिने स्थानीयले बताए ।
