थाहा नगरका ९७ जना विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग
मकवानपुर । थाहा नगरपालिका–६ स्थित उदय प्राथमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको छ । स्थानीय समाजसेवी राजेन्द्र विडारी र उनकी श्रीमती निर्मला विडारीले आफ्नो छोराको जन्मदिनको अवसरमा उक्त विद्यालयका ९७ जना विद्यार्थीलाई स्टेशनरी सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई व्याग, कापी तथा पेनलगायतका स्टेशनरी सामग्री सहयोग गरेका हुन् ।
स्टेशनरी हस्तान्तरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक तुलना न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रताप रुम्बा तथा विद्यार्थीका अभिभावकहरुको सहभागिता रहेको थियो । राजेन्द्र बिडारी स्थानीय प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष, नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ मकवानपुर उत्तरी क्षेत्र अध्यक्ष र नेपाल रेडक्रस सोसाइटी बज्रबाराही उपशाखाका उपसभापति हुन् । ‘जन्मदिनलाई रचनात्मक शैलीमा मनाउने क्रममा विद्यार्थीलाई स्टेशनरी हस्तान्तरण गरिएको हो । आगामी दिनमा पनि फरक शैलीमा समाजसेवालाई निरन्तरता दिनेछौं’, उनले भने ।
