भीमफेदीमा सुमो पल्टियो, ४ जना घाइते
मकवानपुर । हेटौंडा– काठमाडौँ जोड्ने छोटो दुरीको सडकखण्ड अन्तरगत भीमफेदी गाउँपालिकाको भैसेमा सुमो पल्टिएर दुर्घटना भएको छ । बुधबार बिहान काठमाडौबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज २८९१ नम्वरको सुमो आफै अनिन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
दुर्घटनाबाट सुमोमा सवार ४ जना समान्य घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ दामिटारमा पनि आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन रत्ननगर बस्ने ४० वर्षीय युवराज आचार्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
बिहान ६ः३० बजेको समयमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८४९ नम्वरको ईटा लोड टिपरले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक दासले बताए ।
