हेटौंडा भेट्रान्स कप आजदेखि

तु खबर संवाददाता
२०७८ मंसिर २७, सोमबार ०८:१३
file-photo

मकवानपुर । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुने सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता आजबाट हेटौंडामा हुने भएको छ । उद्घाटन खेल आयोजक हेटौंडा भेट्रान्स (बी) र सिमरा भेट्रान्सबीच हुनेछ । अर्को खेल २ बजे सानोगौचरण नाइट किङ र विहानी क्लब फरेष्ट्री हेटौंडाबीच हुने आयोजकले जनाएको छ ।

उद्घाटन खेल विहान साढे ११ बजे हेटौंडा–५, क्याम्पाचौरमा रहेको खेलमैदानमा हुने जनाइएको छ । सोमबार विहान हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिता संयोजक मणिराज गौतमले बताए । सोमबार देखि पुस ३ गतेसम्म हुने प्रतियोगितामा १९ वटा भेट्रान्स क्लबले सहभागिता जनाएका छन् । प्रतियोगितामा ४० वर्षमाथि उमेर समूहका पूर्वराष्ट्रिय खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुने समूहले २ नगद १ लाख ११ हजार १ सय ११ रुपियाँ तथा शिल्ड, दोस्रो हुने समूहले नगद ५५ हजार ५ सय ५५ रुपियाँसहित शिल्ड प्राप्त गर्ने आयोजक क्लब हेटौंडा भेट्रान्स उपाध्यक्ष नवराज बज्राचार्यले बताए । खेलमा उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र समूह कोचलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक गौतमले बताए।