अजयबाबु शिवाकोटीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
काठमाडौं । प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फ उमेदवारी दर्ता गराएका छन् ।आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा १४औँ महाधिवेशनका लागि स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उमेदवारी दर्ता गराएका हुन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।
हालसम्म अध्यक्ष पदमा एक जनासहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार शनिबार उम्मेदवारहरूले दिनभर मनोनयन दर्ता गर्न पाउनेछन् । अध्यक्ष पदमा कल्याण गुरुङले उम्मेदवारी गराएका छन् भने दुई उपसभापति र दुई महामन्त्रीका लागि हालसम्म कसैको उम्मेदवारी परेको छैन । आठ सहमहामन्त्रीका लागि भने हालसम्म मानबहादुर विक, बद्री पाण्डे र फरमुल्ला मन्सुरले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरुले क्रमशः दलित, पिछडिएको क्षेत्र र मुसलमान कलस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
खुलातर्फ ३५ केन्द्रीय सस्दयमा हालसम्म मदनबहादुर अमात्य, लक्ष्मणबहादुर बस्नेत, जिपछिङ लामा, तरुण दलका अध्यक्षसमेत रहेका जितजंग बस्नेत र रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । दलित कलस्टरका नौ केन्द्रीय सदस्य पदमा सुजाता परियार, अमरबहादुर बराइली, मैकलाल बाल्मिकी र पवित्रा विश्वकर्माले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
मधेशी कलस्टरबाट नौ पदमा सकलदेव सुतियार, अनितकुमार झा, अञ्जनीकुमार झा, अजय द्विवेदी र मिथिलेश मिश्रले उम्मेदवारी दर्ता गरेका छन् । सात प्रदेशबाट महिलासहित निर्वाचित हुने २१ जनाका लागि कर्णालीबाट जानकी शाह, कर्णबहादुर बुढा र दिनबन्धु श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
खसआर्य कोटाबाट ६ महिलासहित १३ जना निर्वाचित हुने सदस्य पदका लागि रामकृष्ण घिमिरे, खिलानाथ दाहाल, ईश्वरबहादुर मल्ल, कृष्णप्रसाद कोइराला, दिपेशप्रसाद भट्ट, अच्चुतप्रसाद गुरागाईं र जगतप्रसाद जोशीले उम्मेदवारी दर्ता गरेका छन् । अपांगता एक कोटाका लागि डेकराज भट्टराई, गोपालबहादुर देउवा र तिलप्रसाद सुब्बाको उम्मेदवारी परेको छ ।
