दुबई उड्न लागेका ७६ यात्रु फिर्ता

तु खबर संवाददाता
२०७८ मंसिर २१,मंगलवार १०:११

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागमन कार्यालयले दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई फर्काइदिएको छ । ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको प्रमुख अध्यागम अधिकृत पुष्पराज शाहीले जानकारी दिए ।

नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जनामध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए । सहकारीबाट जान लागेको बताए पनि उनीहरू कुनै जानकारीविना एक्कासी एयर्पोर्ट आएको र कागजातसमेत नभएकोले फर्काइएको प्रमुख अधिकृत शाहीले बताए । आइतबार राति ११ बजे उड्न लागेका उनीहरूले जम्मा चार दिनका लागि दुबई जान लागेको बताएका थिए । तर, भिसा भने साढे एक महीनाभन्दा धेरैको रहेको शाहीले बताए ।