बैतडी जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृतयु भएको छ । बैतडीको पाटनबाट सकार जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकार खोलामा सोमबार साँझ दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
दुर्घटनामा परेर घटनास्थलमै मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका–१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा विक, पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई रहेका छन् । प्रेम र मनिषा बीच १० दिन अघिमात्रै बिहे भएको थियो । उनीहरु दुबैजना माइतीघर कैलपाल फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
यस्तै, पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार, सोही दुर्घटनामा परेर अर्कँ पाँच जना घाइते भएका छन् । घाइतेमध्ये पाटन नगरपालिका–१ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ । यसैगरी, विष्णु भट्टराई, दीपक भट्टराई, गोविन्दी विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।
