बागमती प्रदेश: भागबण्डा मिलाउन मन्त्रालय १४ पुर्याइयो

मकवानपुर । बागमती प्रदेश सरकारले ८ मन्त्रालयलाई विभाजन गरेर १४ पुर्याएको छ । सरकारमा आवद्ध गठबन्धनका दलहरुलाई भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेको हो । गएको मंसिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालय विभाजन गरेर १४ पुर्याउने निर्णय गरेको हो ।
हेर्नुहोस् प्रदेश सरकारद्वारा प्रकाशित राजपत्र
बागमतीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द र जनता समाजवादी पार्टी गठबन्धनमा रहेका छन् । मन्त्रालय थप गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ । सरकार गठनका समयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय थियो । हाल भागबण्डा मिलाउन मन्त्रालय टुक्र्याइएकोमा चौतर्फी विरोध भइरहेको छ ।
प्रदेशमा एउटा मन्त्रालय थप हुँदा करोडौँ रुपैयाँ आर्थिक भार थपिने देखिएको छ । यसअघि पनि सामाजिक विकास मन्त्रालयलाई टुक्र्याएर स्वास्थ्य मन्त्रालय बनाइएको थियो । गठबन्धनको सरकार भएकोले सबैलाई भाग पुर्याउनुपर्ने दबाबमा मुख्यमन्त्री पाण्डे छन् ।