दुर्घटनामा लामिछानेको मृत्यु
कुस्मा । पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज (शनिबार) बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग १ ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को २ त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुनेमा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछाने रहेका छन् ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए । उनीहरुमध्ये पाँच जना गम्भीर घाइते र १४ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
