विमानस्थलबाट २१ किलो सुन बरामद

तु खबर संवाददाता
२०७८ मंसिर १४,मंगलवार १५:४४
file-photo

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलबाट एकैदिन बाला आकारको २१ किलो सुन बरामद भएको छ । विमानस्थलमा भन्सारका कर्मचारीले विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको २१ किलो सुन बरामद गरेका हुन् । सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका उक्त परिणामको सुन भन्सार कर्मचारीले बरामद गरेका हुन् ।

काँचो सुनलाई बाला आकारमा बनाएर ल्याएको हुनाले ४ सय १५ जनाको साथबाट २१ किलो सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईल भने, –‘काँचो सुन ल्याएको हुनाले महसुल तिराएर मात्र सुन फिर्ता दिएका छौँ, १ सय ९५ जनाले राजस्व तिरेर आफ्नो सुन लानुभएको छ ।’

यसअघि बाला आकारको सुन भन्सार छुटमा ल्याउन दिए पनि अहिले विमानस्थल भन्सार कार्यालयले भन्सार महसुल लिन थालेको छ । विदेशबाट फर्किनेहरूलाई सुन तस्करहरूले भरियाको रूपमा प्रयोग गरेर काँचो सुनलाई बङ्ग्याएर बाला आकारमा पठाएर विमानस्थलमा सङ्कलन गर्दै आएका थिए । ५० ग्रामको बाला पठाउँदा विदेशबाट फर्किने कामदारहरूलाई तस्करले ५ हजार दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।