मिनि ट्रक दुर्घटना हुँदा एकको मृत्यु

रासस
२०७८ मंसिर १३,सोमबार १४:३८

मान्म । कालीकोटको नरहरीनाथ गाउँपालिका–१ कोटवाडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जादैँ गरेको बा ५ ख ४६४३ नं को मिनि ट्रक कोटवाडामा दुर्घटना भएको हो । दुर्घटनामा परी मिनि ट्रकमा सवार नरहरीनाथ–१ कोटबाडाका ५८ वर्षीया जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकमा चार जना सवार रहेका र ट्रक मालिक नेत्रबहादुर विष्ट घाइते भएको प्रहरीले जनाएको छ । घाइते विष्टको थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याइँदै गरेको प्रहरीले जनाएको छ । निर्माणधीन सुनथराली विमानस्थलका लागि निर्माण सामग्री बोकेको मिनि ट्रक दुर्घटना भएको स्थानीय जमानसिंह विष्टले बताउनुभयो । मिनि ट्रकका चालक र सहचालक सकुसल रहेको प्रहरीले जानकारी दिएको छ ।