हेटौंडा, मकवानपुरगढी र कैलाशमा आज माओवादी केन्द्रको अधिवेशन हुँदै

तु खबर संवाददाता
२०७८ मंसिर १३,सोमबार ०८:२९

मकवानपुर । नेकपा माओवादी केन्द्रले आज मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका र कैलाश गाउँपालिकामा पालिकास्तरीय अधिवेशन गर्ने भएको छ । यसअघि मंसिर ११ गते नै थाहा नगरपालिकामा भने ५९ सदस्यीय नगर कमिटी बनाइसकिएको तर पदाधिकारी चयन गर्न बाँकी रहेको माओवादी केन्द्रका नेता कमानसिं पाख्रिन (पृथक)ले जानकारी दिएका छन् ।

माओवादी केन्द्रले यसअघि मकवानपुरका १०२ वटै वडाको अधिवेशन सम्पन्न गरिसकेको छ । माओवादीले पालिका निर्वाचनको लागि वडाबाट प्रतिनिधि चयन गरेको छ । गाउँपालिकाको हकमा १ सय ५०, नगरपालिकामा २ सय, उपमहानगरपालिकामा ३ सय र महानगरपालिकामा ४ सय जना प्रतिनिधि छनौट भएका छन् । सकेसम्म हामी सबै पालिका÷ नगरमास हमतिबाटै नेतृत्व चुन्ने प्रयास गर्छौँ । सहमति जुट्न नसकेमात्रै निर्वाचन हुनेछ, उनले भने ।

कमिटीमा अध्यक्ष १, उपाध्यक्ष २, सचिव १, सह–सचिव २ र कोषाध्यक्ष १ जना गरी ७ जना पदाधिकारी चयन हुँदैछन् । सदस्यहरु भने गाउँपालिकाको हकमा ४८ जना, नगरपालिकाको हकमा ५८ जना र उपमहानगरपालिकाको हकमा ७४ जना चयन हुनेछन् । माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको छ । माओवादीले पार्टी े विधानको ब्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए ।

पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ । वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।