नेकपा माओवादी केन्द्र थाहा नगरको सम्मेलन आज हुँदै

तु खबर संवाददाता
२०७८ मंसिर ११,शनिबार ०९:०१

मकवानपुर । नेकपा माओवादी केन्द्रले आज शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको जनाइएको छ । मकवानपुरमा भने आज थाहा नगरपालिकाको मात्रै सम्मेलन हुने माओवादी केन्द्रका नेता कमानसिं पाख्रिन (पृथक)ले जानकारी दिएका छन् ।

उनका अनुसार आज थाहा नगरपालिकाको र १३ गते बाँकी ९ वटा पालिकाको अधिवेशन गर्ने तयारी भइरहेको छ । यसअघि १०२ वडामध्ये अधिकाँशमा सहमतिबाटै अधिवेशन सम्पन्न भइसकेको र बाँकी वडाहरुमा आज सम्पन्न गरिनेसमेत उनले बताए । माओवादीले पालिका निर्वाचनको लागि वडाबाट प्रतिनिधि चयन गरेको छ । गाउँपालिकाको हकमा १ सय ५०, नगरपालिकामा २ सय, उपमहानगरपालिकामा ३ सय र महानगरपालिकामा ४ सय जना प्रतिनिधि छनौट भएका छन् । थाहा नगरमा हामी सकेसम्म सहमतिबाटै नेतृत्व चुन्ने प्रयास गर्छौँ । सहमति जुट्न नसकेमात्रै निर्वाचन हुनेछ, उनले भने ।

कमिटीमा अध्यक्ष १, उपाध्यक्ष २, सचिव १, सह–सचिव २ र कोषाध्यक्ष १ जना गरी ७ जना पदाधिकारी चयन हुँदैछन् । सदस्यहरु भने गाउँपालिकाको हकमा ४८ जना, नगरपालिकाको हकमा ५८ जना र उपमहानगरपालिकाको हकमा ७४ जना चयन हुनेछन् । पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । शनिबार दिउँसो १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्ने समेत पृथकले जानकारी दिए ।

माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको छ । माओवादीले पार्टी े विधानको ब्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए ।

पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ । वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।