नेकपा मकवानपुरको आयोजनामा मोटरसाइकल र्‍याली

तु खबर संवाददाता
२०७८ मंसिर ६, सोमबार १७:४१

मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले आठौँ पार्टी पुनर्गठन दिवस तीन दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । विप्लव नेकपाले पार्टी पुनर्गठन दिवसको अवसरमा आज (सोमबार) हेटौंडामा मोटरसाईकल र्याली गरेको छ ।

हेटौंडा चौकिटोलस्थित पार्टी कार्यालयबाट सुरु भएको र्याली बुद्धचोक हुँदै राप्तीरोड, बसपार्कबाट सिमाचोक, फेरेष्टी, औद्यागिक क्षेत्र, कमानेबाट क्याम्पाडाँडा निस्किएर सिमाचोक आईपुगेर कोणसभामा परिणत भएको थियो ।

दिवसको कार्यक्रम अन्तरगत भोलि दोस्रो दिन ७ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरले मकवानपुर बहुमुखी क्याम्पसमा वक्तित्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गर्ने भएको विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष ललित घलानले जानकारी दिए । उनले उक्त कार्यक्रम मकवानपुर बहुमुखि क्याम्पसमा हुने बताए ।

यसैगरी, पार्टीको युवा संगठनले भोलिनै हेटौंडाको हुप्राचौरमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता कार्यक्रम आयोजना गर्ने उनले बताए । उनका अनुसार, सो प्रतियोगितामा जिल्लाको विभिन्न पालिकाहरुमा पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने बताए । त्यस्तै, दिवसको अन्तिम दिन मंसिर ८ गते बुधबार बिहान चौकिटोलस्थित पार्टी कार्यलयमा शुभकामना आदनप्रदान तथा चियापान र बेलुका बुद्धचोकमा दिप प्रज्वलन गर्ने कार्यसूची तय भएको उनले बताए ।