मकवानपुरमा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७८ मंसिर ६,सोमबार १५:५८

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले ‘अन्तरपालिका  स्तरीय फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । जिसस मकवानपुरको आइतबार बसेको ८४ औं बोर्ड बैठकले सो निर्णय गरेको हो ।

उक्त प्रतियोगिता जिसस मकवानपुरको आयोजना तथा जिल्ला खेदकुद विकास समितिको व्यवस्थापनमा यही मंसिर १८ गतेदेखि २५ गतेसम्म हुने भएको हो । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बोर्ड बैठकले जिल्लाका १० वटै स्थानीय तहहरुको सहभागिता हुने गरि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

जिससले गत वर्ष प्रतियोगिता आयोजना गर्ने तयारी गरेकोमा अन्तिम अवस्थामा आएर कोभिडका कारण स्थगित भएको थियो । स्थानीय स्तरमा फुटबलको विकास गर्ने, नयाँँ खेलाडी उत्पादन गर्ने तथा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्न समेत मद्दत पुग्ने उद्देश्यका साथ जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

प्रतियोगिताको बिजेताले नगद २ लाख रुपैयाँ र उपबिजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र तथा विभिन्न विधागत रुपमा समेत पुरस्कारको व्यवस्था गरिएको छ । आगामी १५ गतेसम्म जिल्ला खेलकुद विकास समितिमा स्थानीय तहको सिफारीससहितको टिम दर्ता गराईक्नु पर्ने नकआउट फुटबल प्रतियोगितामा आफ्ना खेलाडीहरूको सम्पुर्ण व्यवस्थापन सम्बन्धीत स्थानीय तहले गर्नुपर्ने छ ।