कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई तीब्रता दिइएको छ– स्वास्थ्यमन्त्री खतिवडा

तु खबर संवाददाता
२०७८ मंसिर ५,आईतवार १०:२३

मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले छिमेकी राष्ट्र भारत, चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोप ल्याई सबै नेपाली नागरिकलाई खोप लगाउने कार्यलाई तीब्रता दिन सरकारले खोप ल्याउने कार्य सुरु गरिसकेको बताएका छन् । समाजवादी प्रेस संगठन मकवानपुरद्वारा आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुलाई पनि खोप लगाउने कार्य सुरु भइसकेको बताए ।

अन्य उमेर समूहका नागरिकहरुलाई खोप लगाउने कार्य भइरहेको र नागरिक आफैँ पनि सम्बन्धित स्वास्थ्य चौकीहरुमा गएर खोप लगाउने कार्यका सजक हुनुपर्ने धारणा व्यक्त गरे । संघीय तथा प्रदेश सरकारको मातहतमा रहेका अस्पतालहरुको स्तरोन्नती गर्नुका साथै आवश्यक चिकित्सक दरन्दी खुल्ला गरी गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताए ।

मन्त्री खतिवडाले संघीय सरकारले आगामी चैत्र मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गर्ने क्रममा निर्वाचन आयोगलाई निर्वाचन कार्यतालिका तयारी गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै आवश्यक शान्तिसुरक्षा र बजेट निकासा दिनेतर्फ प्रयास भइसकेको बताए ।

उनले दुर्गम भेगका जनताहरुलाई स्वास्थ्य सेवा सुलभ ढंगबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्य चौकीको स्थापना गर्ने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुलाई करार सेवामा नियुक्त गरी स्वास्थ्य उपचार सेवालाई तीब्रता दिने सरकारको लक्ष्यका साथ गृहकार्य भइरहेको पनि जानकारी गराए । मन्त्री खतिवडाले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको आजै निरीक्षण गरी गुणस्तरीय स्वास्थ्य उपचार सेवा छिटोछरितो सर्वसाधारण नागरिकलाई उपलब्ध गराउन निर्देशन दिए ।