हेटौंडा भेट्रान्स कप मंसिर २७ देखि हुने

तु खबर संवाददाता
२०७८ मंसिर ५,आईतवार ०८:३९

मकवानपुर । हेटौंडा भेट्रान्स क्लबले सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता यही मंसिर २७ गतेदेखि आयोजना गर्ने तयारी गरेको छ । क्लबको शनिबार भएको सातौ साधारणसभाले यस्तो निर्णय गरेको हो । साधारणसभा उद्घाटन गर्दै हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले मकवानपुरको फुटबल क्षेत्रमा हेटौंडा भेट्रान्सले देखाएको गतिविधि उल्लेख्य रहेको बताए ।

४० वर्षमाथि उमेर समूहका पूर्व खेलाडीको सहभागिता रहने हेटौंडा भेट्रान्सले हरेक वर्ष आयोजना गर्दै आएको हेटौंडा भेट्रान्स कप्त फुटबलले फुटबलमा रौनकता थप्दै आएको उनले बताए । उनले हेटौंडा भेट्रान्स क्लबका लागि यस वर्ष प्रतियोगिता गर्न ४ लाख रुपियाँ बजेट पुस्तिकामा राखिएको र नपुग भए हेटौंडा उपमहानगरपालिका सहयोग गर्न तत्पर रहेको बताए । क्लब उपाध्यक्षा नवराज बजाचार्यको सभाध्यक्षतामा भएको साधारणसभामा कोषाध्यक्ष रमेश उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव ज्ञानु क्षेत्रीले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। ।

साधारणसभामा पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, बागमती प्रदेश फुटबल समिति अध्यक्ष राजेन्द्र श्रेष्ठ, मकवानपुर जिल्ल्ला फुटबल संघ अध्यक्ष टीका लामा, हेटौंडा भेट्रान्सका सल्लाहकार पुरणबहादुर जोशी, ईश्वर बानियाँ, खेलकुद विकास समिति अध्यक्ष सानु लामा, मकवानपुर कुखुरा व्यवसायी संघ अध्यक्ष गोकुलनाथ पौडेल लगायतले हेटौंडा भेट्रान्सले गरेका गतिविधिबारे चर्चा गरेका थिए । कार्यक्रममा हेटौंडा भेदान्स कार्यसमिति सदस्य वासुलाल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।