वंशगोपालको १२ कोठे भवन शिलान्यास

तु खबर संवाददाता
२०७८ मंसिर ५, आईतवार ०८:१७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडामा रहेको वंशगोपाल माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । विद्यालयको पुरानो भवन जिर्ण बनेपछि नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार, १२ कोठाको ३ तल्ले भवन निर्माण हुनेछ ।

मदन भण्डारी मार्ग (धरान चतरा–हेटौंडा सड़क) विस्तारका क्रममा भत्काउनुपर्ने भवनको क्षतिपूर्तिबापत आउने करिब १ करोड रुपैयाँबाट विद्यालयको भवन निर्माण सुरु गरिएको प्रधानाध्यापक लामिछानेले बताए । विद्यालय भवन निर्माणका लागि करिब २ करोड रुपैयाँ लाग्ने अनुमान रहेको उनले जानकारी दिए । भवन निर्माणका लागि अपुग रकम स्थानीय र प्रदेश सरकारको समन्वयमा विद्यालय पुनः निर्माणको बजेटबाट जुटाइने प्रधानाध्यापक लामिछानेले जानकारी दिए । भवन निर्माण कार्य चैत्र महिनासम्म सम्पन्न गरिने लामिछानेको भनाई छ ।