न्यायाशीशहरु शुक्रबार इजलासमा बस्न राजी
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरु शुक्रबार इजलाशमा बस्न राजी भएका छन् । बिहीबार सर्वोच्चको पूर्ण वैठकबाट नियमावली संशोधनको प्रस्ताव पारित भएपछि न्यायाधीशहरु इजलासमा बस्न तयार भएका हुन् । उनीहरुको माग अनुसार नै शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन, तामेली र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै पेसीमा राखेका छन् ।
शुक्रबारका लागि प्रधानन्यायाधीश जबराले २२२ वटा रिट निवेदन पेसीमा राखेका छन् । जसका लागि ९ वटा संयुक्त इजलास र एउटा एकल इजलासमा पेसी तोकिएको छ । शुक्रबारका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाश मान सिंह राउत, मीरा खड्क र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल तथा तेज बहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलास गठन गरिएको छ ।
न्यायाधीश नहकुल सुवेदीका लागि भने एकल इजलास तोकिएको छ । यी सबै पेसीमा तामेलीका लागि दिइएको निवेदन,बन्दी प्रत्यक्षीकरण वा थुनुवासम्बन्धी मुद्दा रहेका छन् । शुक्रबार प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राखेका छैनन् ।
