थप ४१६ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ कार्तिक २९, सोमबार १७:३०

काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा ४१६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ५५४ पीसीआर र ४ हजार ८४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३३३ जना पुगेको छ ।

कुल संक्रमितमध्ये ७ हजार ३११ जना सक्रिय संक्रमित छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा २७० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ । उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन्। २२५ जना आइसीयू र ६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

मकवानपुरमा थपिए ३ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २७ जनाको पीसीआर र ७ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा दुबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ४ सय २६ जना पुगेको छ । तीमध्ये हालसम्म १५ हजार १ सय ७६ जना संक्रमणमुक्त भएका छन् भने १६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोनाभाइरस ९कोभिड–१९० संक्रमणमुक्त भएका छन् ।

विभिन्न मितिमा संक्रमण पुष्टि भई होम आइसोलेशनमा रहेका ४ जना आज संक्रमणमुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा १ जना हेटौंडा उपमहानगरपालिका र ३ जना थाहानगरपालिकाका रहेका छन् । यस्तै, जिल्लामा हालसम्म हेटौंडाका १ सय १७ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।