विवेकशील साझाका १३ नेताले दिए पार्टीबाट राजीनामा

तु खबर संवाददाता
२०७८ कार्तिक २८, आईतवार १६:०१
file-photo

काठमाडौं । विवेकशलि साझा पार्टीका १३ जना नेताले सामूहिक राजीनामा दिएका छन् । पार्टीका सचिवालय सदस्य महेश भण्डारीसहित गण्डकी प्रदेशका १३ जनाले पार्टीबाट राजीनामा दिएका हुन् । पार्टीको गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले गत साउन १७ गते राजीनामा दिएका हुन भने बाँकी १३ जनाले हालै सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा पार्टीका केन्द्रीय अभियान विभाग सदस्य समेत रहेका केन्द्रीय सदस्य दीपक पौडेल, पार्टी तथा युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, गण्डकीका प्रदेश सदस्य एवं कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, पदम न्यौपाने र तनहुँ जिल्ला संयोजक एवं गण्डकी प्रदेश सदस्य सागर घिमिरे रहेका छन् ।

यस्तै, युवा संगठनका केन्द्रीय सदस्य मनिषा मगर, व्यास नगर संयोजक तथा प्रदेश सदस्य सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भीमनारायण कोइराला, बाग्लुङ जिल्ला संयोजक सुरज श्रेष्ठ र म्याग्दी जिल्ला संयोजक विश्वराज अछामेले राजीनामा दिएका हुन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनीहरुले अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमाथि असहमति जनाएका छन् । उनीहरुले भनेका छन्, ‘पद्दति, पारदर्शिता, इमान्दारिता, उत्कृष्टता, समानुभूति र साहस जस्ता कुरालाई मूल आधार बनाएर देशको अवस्था परिवर्तनको यात्रामा हिँडेका हामीहरु नेतृत्वको गलत कुरालाई मान्न कदापी तयार हुँदैनौं । वैकल्पिक राजनीतिलाई विवकेशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशय्यामा पुर्याएको हाम्रो ठहर छ ।’