हेटौंडामा उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सकियो

तु खबर संवाददाता
२०७८ कार्तिक २५, बिहीबार ०८:३७
file_photo

मकवानपुर । उदाउदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन भएको छ । हेटौंडामा पनि भक्तजनहरुले सूर्यलाई अर्घ दिएर विधिवत रुपमा छठ पर्वलाई विदाई गरेका छन् । हेटौंडाको राप्ती खोला किनारमा स्थापना गरिएको घाटमा भक्तजनहरुले आज बिहान सूर्य अर्घ चढाएका थिए ।
भक्तजनहरुले चार दिनदेखि मनाउँदै आएको महाअनुष्ठानको पर्व छठ सकिएको छ । बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका ब्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएका हुन् ।

योसँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाडको उल्लास अब सकिएको छ । हेटौंडाको राप्ती खोला किनारामा उदाउदो सूर्यलाई पुजा गर्नका लागि भक्तजनहरुको भिड रहेको थियो । प्रकृतिको पूजा गर्ने पर्वको रुपमा परिचित छठका लागि झिलिमिलि पारिएको हेटौंडाको राप्ती खोलामा ब्रतालुहरु बिहान उज्यालो नहुँदै पुगेका थिए ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनहरुअस्ताउँदो सूर्यलाई अर्घ दिन राप्ती किनारमा पुगेका हुन् । छठघाटबाट घर फर्किएपछि इनार, गाईलगायत चलनचल्ती अनुसार आसपासका मन्दिरहरुमा पूजा अर्चना गरिन्छ । ब्रतालुले आफूभन्दा ठूलालाई आशीर्वाद लिन्छन् र सानालाई आशीर्वाद दिन्छन् । त्यसपछि अदुवा, गुलियो, र तातोपानी खाएर व्रत तोडेर मात्रै भोजन गर्ने चलन छ ।