राष्ट्रिय जनगणना आजदेखि शुरु

मकवानपुर । राष्ट्रिय जनगणना आज बिहीबार (कार्तिक २५ गते) देखि शुरु हुँदैछ । यस पटक लिपुलेक कालापानी क्षेत्रमा पनि जनगणना गरिने कन्द्रीय तथ्यांक विभागले जनाएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार पत्रकार सम्मेलन गर्दै यसपालिदेखि लिपुलेक, लिम्पियाधुरा र आसपासमा रहेका नेपाली भूमि र वस्तीमा पनि जनगणना गरिने जनाएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार आजदेखि शुरु हुने जनगणनाका लागि ४० हजार गणक फिल्डमा खटिने भएका छन् ।
राष्ट्रपतिको विवरण संकलन गरी जनगणना शुरु गरिनेछ। यसका लागि गणकहरु विहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरु विहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति कहाँ पुग्ने भएका छन् । उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसत एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिए । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८ हजार ५ सय जना सुपरीवेक्षक खटिएका छन् ।
उनीहरुलाई दिने सबै प्रकारका तालिम पूरा भएको छ । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्यावलेट कम्प्युटर प्रयोग हुने भएको छ । कुल २ हजार २ सय ५० वटा ट्याबलेट प्रयोग हुने तथ्यांक विभागले जनाएको छ । विभागका अनुसार एक जना गणकले औसतमा १५ दिनमा १ सय ७५ परि वारको गणना गर्नु पर्ने छ । जनगणनाको तथ्यांक संकलन १५ दिनभित्र सक्नुपर्ने छ । हाल संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मंसिर मसान्तसम्म केन्द्रमा जाने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिइने विभागको तयारी छ ।