कोरोना संक्रमणबाट मकवानपुरका थप एक जनाको मृत्यु

मकवानपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मकवानपुरका थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जारी गरेको विवरण उल्लेख छ । स्वास्थ्य कार्यालयका अनुसार चितवनका अस्पतालमा हाल २५ जना कोरोना संक्रमित उपचाररत् छन् । भरतपुर अस्पतालमा १८, चितवन मेडिकल कलेजमा ५, पुरानो मेडिकल कलेजमा २ जना संक्रमितको उपचार भइरहेको छ । चितवनका विभिन्न अस्पतालमा ३ जना भेन्टिलेटरमा, ११ जना आईसीयुमा, १४ जना एचडीयुमा उपचाररत् छन् ।
मकवानपुरमा सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्यांक अनुसार मकवानपुरमा सोमबार ३७ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ४ जनामा कोरोना पुष्टि भएको हो । मकवानपुरको कोरोना संक्रमित दर १६ प्रतिशत छ । मकवानपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १५ हजार ४ सय १२ छ । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ६ छ ।
सोमबार देशभर थप ३ सय ९० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार २६ जनाको कोरोना परीक्षण गर्दा ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २ हजार ६ सय ६ जनाको पीसीआर परीक्षण र २ हजार ४ सय २० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल ७ हजार ६ सय ५४ जना सक्रिय संक्रमित छन् । सोमबार कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने २५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।