थप ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ कार्तिक १७, बुधबार १७:०२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १३ हजार ८२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये हालसम्म ११ हजार ४३४ जनाको संक्रमणबाट मृत्यु भएको भने ७ लाख ९३ हजार २७१ जना अर्थात हालसम्म निको हुने दर ९७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने ४३९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ हजार ९१३ जनामा कोरोना परीक्षण भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ जना रहेका छन् । जसमध्ये ८ हजार ४३६ जना होम आइसोलेसनमा रहेका छन् भने ६८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।