गठबन्धनका ४९ सांसदको समर्थनसहित प्रदेश १ को मुख्यमन्त्रीमा राईको दावी
काठमाडौँ । प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले गठबन्धनको ४९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै राजेन्द्र राइले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।
उनलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ । प्रदेश १ मा सरकार गठनका लागि दावी पेश गर्न ४७ सांसदको हस्ताक्षर आवश्यक पर्छ । सोमबार दिउँसो मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालको संविधानको धारा १६८ को (२) बमोजिम सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।
