बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यही कात्तिक २२ गते संसदमा विश्वासको मत लिने भएका छन् । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री बनेका पाण्डेले २२ गतेको प्रदेशसभा बैठकमा विश्वासको मत दिने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार, मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताप संसद सचिवालयमा दर्ता भइरहेको छ । मुख्यमन्त्री पाण्डेले विस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट आइतबार मात्र पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । उनले मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको पत्रमा १२ गते उल्लेख गरिएको छ तर, संसद् सचिवालयमा भने हिजो मात्रा दर्ता भएको बताए ।
पाण्डे नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एकीकृत समाजवादीबाट तेस्रो मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले सरकारको नेतृत्व गरेको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सोही व्यवस्था अनुसार, मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदबाट निर्णय गराई विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ताका लागि पठाएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले जानकारी दिए । सरकारको काम र आवश्यकताको आधारमा मन्त्री र राज्यमन्त्रीहरू नियुक्त गरिने भएकाले गठबन्धनको दलहरुसँगको छलफलबाट सो विषयले पूर्णता पाउने प्रवक्ता खनालले बताए ।
