केपी ओलीले ‘म्याउ’ गर्दैमा माओवादी समाप्त हुँदैन – देवकोटा
मकवानपुर । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालका संयोजक सुमन देवकोटाले जनताको त्याग तपस्या र बलिदानीबाट निर्माण भएको माओवादी केन्द्र प्रतिगामीहरुको हजारौँ प्रयासबाट पनि समाप्त नहुने बताएका छन् । आज हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रतिगामीहरुले जति नै डाहा गरेपनि माओवादी समाप्त नहुने बताए ।
‘प्रतिगामी केपी ओलीले धोका दिँदैमा, भाषण गर्दैमा माओवादी सकिँदैन । बरु झन देश र जनताप्रति समर्पित भएर लाग्नेछ । बालकोटमा बसेर म्याउ गर्दैमा माओवादी समाप्त हुँदैन ।’ उनले भने । माओवादी केही हैन भन्नेहरुको अब धेरै दिन नरहेको र माओवादीलाई नजिस्काउन पनि उनले चेतावनी दिए । माओवादी एउटा शक्ति हो भन्दै संयोजक देवकोटाले माओवादी र प्रचण्डले संघर्ष गरेर ल्याएको संविधान, संघीयता, गणतन्त्र र जनमत मास्न खोज्दा प्रतिगमनकारी केपी ओलीको हालत हेरेरमात्र माओवादीको शक्ति अनुमान गर्नुपर्ने उनले बताए ।
‘हिजो कसैलाई बोल्ने छुट थिएन, माओवादीको संघर्ष र लडाईबाट सबै नेपालीमा आज स्वतन्त्र रुपमा बोल्ने अधिकार प्राप्त भएको छ,’ उनले भने । उनले सरकारमा रहँदा व्यवस्थापन मिलाउन नसक्दा माओवादीलाई धेरै घाटा भएको तर अब त्यस्तो गल्ती माओवादीबाट कदापि नहुने बताए । उनले युवाशक्तिलाई प्रतिगमनको विरुद्ध एकजुट हुन आग्रह गरे । जनताको तपस्याबाट प्राप्त भएको संविधान निमोठ्न खोज्ने, लोकतन्त्र नै धरापमा पार्न खोज्नेलाई अब गाउँगाउँबाट लखेट्ने दिन आएको उनले बताए ।
