दुर्घटनामा पाण्डेको मृत्यु
धादिङ । धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए ।
सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई ठक्कर दिएर घाइते बनाएको थियो । घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र मजदुरको सुरक्षाको अनुभूति दिलाउन पीडित पक्ष, प्रहरी र निर्माण कम्पनीबीच सुरुङमार्गस्थलमै काम रोकेर वार्ता भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक मजदुरको निर्माण कम्पनीले बीमा गरेकाले सोहीअनुसार क्षतिपूर्ति दिने कम्पनीले जनाएको छ ।
बेपत्ता मण्डलको शव भेटियो
राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का २३ वर्षीय लालु मण्डलको शव नौ दिनपछि भेटिएको छ । मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा आएको बाढीले बगाएको थियो । प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपञ्चयात–१० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको हो । भारतीय प्रहरीसँगको समन्वयमा शव नेपाल ल्याइ मृतकका पिता शम्भु मण्डललाई बुझाइएको प्रहरीले जनाएको छ । भारतीय बजार कुनौलीबाट किनमेल गरी फर्किंदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जीर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको हो ।
