राजेन्द्र पाण्डेद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दावी पेश
मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी एवम् नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले दावीपत्र बुझाएका छन् । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ५९ जना सांसदहरुकोे हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पत्र बुझाएका हुन् ।
दावी पत्र बुझाउन पाण्डेसँगै नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता सालिकराम जम्कट्टेल,नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र जसपाका सांसद प्रेम तामाङ् प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका छन् । पाण्डे माओवादी केन्द्रका २३ सांसद, कांग्रेसका २२ सांसद,नेकपा एसका १३ सांसद र जसपाका १ सांसद गरी ५९ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।
बुधबार बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दावी पेश गर्न बिहीबार ३ बजेसम्मको समय दिएका थिए । १०९ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५५ मत आवश्यक पर्छ । गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ र जसपाका एक सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग मत ४३ छ । विवेकशील साझाका तीन, नेमकिपा र राप्रपाका २/२ सदस्य रहेका छन् ।


