एमालेको पालिका अधिवेशन आज हुँदै, मकवानपुरमा कात्तिक १३ गते
काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछ । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने भएको हो । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
मकवानवपुरसहित केही जिल्लामा भने प्राविधिक कारण देखाउँदै पालिका अधिवेश सारिएको छ । नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठ अनुसार प्राविधिक कारणले आज अधिवेशन हुन नसकेको जनाएको हो । उनका अनुसार, जिल्लामा पालिका अधिवेशन आगामी कात्तिम १३ हुने मात्रै हुने भएको हो ।
आज हेटौंडामा उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम रहेकोले जिल्लाको अधिकाशं पालिकाका सदस्यहरु संघको निर्वाचन प्रक्रियामा भाग लिन हेटौंडा आउनु पर्ने हुँदा अधिवेशनलाई १३ गतेलाई राखिएको सचिव श्रेष्ठले बताए । मकवानपुरमा एक उपमहानगरपालिका एक नगरपालिका र ८ गाउँपालिकासहित १० वटा स्थानीयत तह रहेको छ ।
यस्तै, बाढीपहिरो प्रभावित केही जिल्लाहरूमा पनि आज अधिवेशन हुन नसक्ने सम्बन्धित जिल्ला कमिटीले जनाएको छ । एमालेले यसअघि नै कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । जसअनुसार ६ गते वडा अधिवेशन सम्पन्न भइसकेका छन् । पार्टीको नयाँ विधानबमोजिम गाउँ–नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका १०१ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन् ।
