प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जाने

तु खबर संवाददाता
२०७८ कार्तिक ६,शनिबार १५:३६
file-photo

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी साता बेलायत भ्रमणमा जादैँछन् । उनी २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलका साथ भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी र्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत जान लागेका हुन् । नेपाली दूतावास लण्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतस्थित मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

लण्डनस्थित नेपाली दूतावासकी प्रवक्ता रोशन खनालका अनुसार प्रधानमन्त्री देउवा यही आगामी शुक्रवार (अक्टोबर २९ तारिख) साँझ लण्डन पुग्नेछन् । त्यहाँ पुगेको भोलिपल्ट देउवाले बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने दूतावासले जनाएको छ । देउवासँगको भेटघाटका लागि बेलायती मन्त्री र केही सरकारी अधिकारीहरुलाई आग्रह गरिएको छ । तर अहिलेसम्म बेलायत सरकारको तर्फबाट जवाफ नआएको बताइएको छ ।

भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ । प्रधानमन्त्री देउवा अर्को आइतबार (कार्तिक १४) साँझ लण्डनबाट समिट आयोजना हुने ग्लास्गो सहर प्रस्थान गर्ने भ्रमण तालिका तय भएको छ ।

प्रधानमन्त्री देउवा, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवसहित २० जनाको टोली सो समिटमा भाग लिन कार्तिक १५–१६ (नोभेम्वर १ र २) मा ग्लास्कोमा रहने छ । देउवाले समिटमा विश्वमा तीव्र गतिमा हुँदै गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्ने छन् । प्रधानमन्त्रीको टोली कार्तिक १७ (३ नोभेम्बर) मा ग्लास्गो सहरबाट नेपाल फिर्ता हुने कार्यक्रम तय भएको छ ।