मुगु बस दुर्घटनामा परेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

तु खबर संवाददाता
२०७८ कार्तिक ६,शनिबार ०९:१८

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परेर मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ दिने भएको छ । शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामाब बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि एक लाख राहत दिने निर्णय गरेको छ । मुगु बस दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाएका थिए । बैठकले कोभिड–१९ को कारण ज्यान गुमाएका परिवारलाई राहत वितरणसम्बन्धी कार्यविधि बमोजिम भुक्तानी गर्न निर्देशन दिएको छ ।

हालसम्म २८६ लाई दुई करोड ८६ लाख भुक्तानी भइसकेको तथा वितरण गर्न बाँकीको हकमा जिल्ला प्रशासन कार्यालयबाट कागजात यकिन गरी हकवालाको बैंक खातामा रकम पठाउन आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । त्यस्तै, बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ३ उपनियम (२) बमोजिम रिक्त सदस्य पदमा प्रदेशसभा सदस्य विमला केसी, चन्द्रबहादुर शाही र हिमबहादुर शाहीलाई मनोनित गरेको छ ।