आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन

तु खबर संवाददाता
२०७८ कार्तिक ५,शुक्रबार १४:५४

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि शुक्रबार पनि सुनुवाई भएन । सर्वोच्च मदालतमा उक्त मुद्दामाथि सुनुवाईका लागि शुक्रबार पेसी तोकिएको भएपनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाई स्थगित भएको हो ।

विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । शुक्रबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने गरी पेसी तोकिएको थियो ।

यसअघि पनि आलमको उक्त मुद्दामा विभिन्न कारण देखाउँदै पटक–पटक सुनुवाई स्थगित हुँदै आएको छ । आलम रौतहटबाट निर्वाचित सांसद हुन् । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए । जिल्ला अदालत र उच्च अदालतले उनलाई हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश दिएको छ । सो आदेशविरुद्ध आलमले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।