बागमती प्रदेशसभाको बैठक सुरु

तु खबर संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १६:२०

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज अपराह्नमा सुरु भएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बोहराले विश्वासको मत लिने कार्यसूचि छ । मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।

सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा परेकी हुन् ।

आजको बैठकमा हुने विश्वासको मतको लागि सत्तापक्ष र प्रतिपक्षहरुको लागि मतदान कार्यको निमित छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । कूल ५६ सांसद रहेकोमा १३ सांसद एकीकृत समाजवादीमा गएसंगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् ।

प्रदेशसभा सचिवालयले आजै मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने जानकारी दिएको भएपनि नेकपा एमालेले भने ११ गतेमात्रै विश्वासको मत लिने गरी आजको बैठक छलफलमा मात्रै सिमित गर्न सभामुख सानुकुमार श्रेष्ठसमक्ष आगह् गरेको स्रोतले बताएको छ । विपक्षी गठबन्धनले भने कात्तिक ७ गते मुख्यमन्त्रीलाई विश्वासको मत लिन सुझाएको समेत स्रोतको दावी छ । यसैबीच मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने पक्का भएपछि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई आधा–आधा समय मुख्यमन्त्री बनाउने गरी सहमति जुटेको छ । सहमतिमा पहिला राजेन्द्र पाण्डे मुख्यमन्त्री हुने स्रोत बताउँछ ।