विद्यार्थीलाई निर्घात कुटपिट गर्ने सिद्धार्थ शिशु सदनका शिक्षक पक्राउ

तु खबर संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १५:१४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं ५ स्थित सिद्धार्थ शिशु सदन माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षक केशव दाहाललाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । स्वास्थ्व शिक्षा विषयको अध्यापन गराउने शिक्षक दाहालले कक्षाकोठामा चकचक गरेको भन्दै सोही विद्यालयमा अध्ययरत १२ बर्षका अभिनव अधिकारीलाई १५ दिन अघि निर्घात कुटपिट गरेका थिए । कुटपिटका कारण अभिनवको शरिरको विभिन्न भागमा चोटपटक लागेको उनका बुवा भवनाथ अधिकारीले तु खबरलाई जानकारी दिएका छन् ।

निर्घात कुटपिट गर्ने शिक्षक दाहालले माफि माग्नुपर्ने भन्दै अभिनवका अभिभावकले विद्यालयसमक्ष अनुरोध गरेका थिए । अभिनवको आमा लक्ष्मी अधिकारी सोही विद्यालयको मन्टेश्वरी कक्षामा अध्यापन गर्दै आएकी थिइन् । शिक्षकले गरेको कमजोरी ढाकछोप गर्नको लागि विद्यालय व्यवस्थापन समितिले पीडित पक्षलाई घटना बाहिर ल्याएमा लक्ष्मीलाई जागिरबाट हटाउने चेतावनी दिँदै आएको थियो । आफुहरुले शिक्षकले माफि माग्नुपर्ने अडान लिएपछि लक्ष्मीलाई जागिरबाट हटाइएको उनीहरुको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरिक्षक देवेन्द्र दासले पक्राउ परेका शिक्षकमाथि कुन विषयमा मुद्धा चलाउने भन्ने विषयमा छलफल भइरहेको र पीडित पक्षको किटानी जाहेरीको आधारमा मुद्धा चलाइने जानकारी दिएका छन् । यस विषयमा तु खबरले विद्यालयका प्रधानाध्यापक निर्मल पराजुलीसँग बुझ्ने प्रयास गर्दा उनले पीडित पक्षसंग छलफल भइरहेको र घटनालाई कसरी निकाश दिने भन्ने सन्दर्भमा आफु लागिरहेको बताए । शिक्षक दाहालले भने आफुले विद्यार्थीलाई निर्घात नभई सामान्य सजायँ स्वरुप ढाडमा पिटेको स्वीकार गरेका छन् ।